खाजाको खर्च बचाएर दक्षिण कोरियाली विद्यार्थीद्वारा नेपालमा विद्यालय भवन बनाउन सहयोग

काठमाण्डौ । दक्षिण कोरियाका विद्यार्थीको सहयोगमा नेपालमा विद्यालय बन्ने भएको छ । खाजा खर्च कटाएर जोहो गरेको रकमबाट कोरियाली विद्यार्थीले काठमाडौंमा विद्यालय भवन निर्माण गर्ने भएका हुन । शंकरापुर नगरपालिकास्थित कालिका शरण माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न बनाउन उनीहरुले ४ करोड ३० लाख रुपैयाँ सङ्कलन गरेका छन् । १० कोठे विद्यालय भवन, १४ कोठे छात्रावास, एक सामुदायिक भवन र शौचालय निर्माणको शिालन्यास दक्षिण कोरियाको छल्लानाम प्रान्तका ती विद्यार्थी र शिक्षकहरु समेतको उपस्थितिमा त्यस क्षेत्रका सांसद समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको टोलीले संयुक्त रुपमा गरेको छ ।

नेपालका ८ हजारभन्दा बढी उचाईका १६ वटा हिमाल आरोहण गरि गिनिज बुकमा नाम लेखाईसकेका कोरियाली पर्वतारोही अम हङ गिलको अम हङ गिल फाउन्डेशनले भवन निर्माणको जिम्मा लिएको छ । तामाङ समुदायका विद्यार्थीको बाहुल्य रहेको विद्यालयमा भौतिक पूर्वाधारको कमीले शिक्षण कार्यनै प्रभावित भएपछि कोरियाली विद्यार्थी र शिक्षक सहयोगका लागि तत्पर भएका हुन् । सन् २०१९ को डिसेम्बरमा भवन निर्माण सक्ने योजना फाउण्डेशनको छ ।

Comments