पोखरा । चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा पहिलो विजय हात पारेका छ । धनगढी एक्सपर्ट ब्लुजलाई १ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवनले विजयको खाता खोलेको हो ।
बुधबार टस हारेर ब्याटिङ रोजेको चितवनले ६ विकेट गुमाई १ सय ९३ रन बनाएको हो। प्रतियोगितामा यो दोस्रो उच्च स्कोर हो। स्थानीय टोली पोखरा पल्टनले पहिलो दिनको खेलमा विराटनगर टाइटनसँग १ सय ९७ रन बनाएको थियो।
जबाफमा आएको धनगढी १६.२ ओभरमा ६७ रनमा अल आउट भयो। सन्नी पटेलले ३.२ ओभरमा ८ रनमात्र खर्चेर ४ विकेट लिए। समित पटेल र भुवन कार्कीले २,२ तथा करण केसी र शक्ति गौचनले १,१ विकेट लिए।
धनगढीबाट पिटर ट्रेगोले २७ र योगेन्द्रसिंह कार्कीले १७ रन बनाए। धनगढीका ओपनरद्वय दिलीप नाथ र डानियल लरेन्स खाता नखोली आउट भएका थिए।
यसअघि चितवनबाट हरिशंकर साहले ३३ बलमा ५३ रन बनाएका थिए। पोखरा रंगशालाको क्रिकेट मैदानमा उनले ६ चौका र ३ छक्का प्रहार गरे। उनले अनिलकुमार साहसँग पहिलो विकेटमा ११।३ ओभरमा १ सय १० रन जोडे। अनिलले ३४ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३७ रन बनाए।
कप्तान पारस खड्का ९ बलमा १९ र समित पटेल १७ बलमा २४ रन बनाई आउट भए। आरिफ शेख फेरि पनि खाता खोल्न चुके। सन्नी पटेल १६ बलमा २६ र करण केसी ६ बलमा ११ रन बनाई नटआउट रहे।
धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी सहित पिटर ट्रेगो डानियल लवरेन्स, योगन्द्र कार्कीले १,१ विकेट लिए। १ खेलमा विजय हात पारेको धनगढीले ३ खेलमा दोस्रो पराजय भोगिसकेको छ।
Comments
Post a Comment