दुई लाख रुपैयाँ घुससहित नापी सर्वेक्षक पक्राउ

लहान । सिरहाको लहान ६ स्थित नापी कार्यालयबाट मंगलबार नापी सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको छ।

महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयबाट आएको टोलीले नापी सर्वेक्षक चौधरीलाई मंगलबार सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालयबाट रंगेहात पक्राउ गरेको हो।

प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीको नेतृत्वमा आएको आयोग टोलीले लहान नगरपालिकामा रहेको करोडौँ मूल्य पर्ने एक बिघा तीन कठ्ठा जग्गा भुलवश श्रेस्तामा एक कठ्ठा तीन धुर उल्लेख भएपछि सच्याउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ मागेका थिए।

श्रेस्ता कायम गर्ने समयमा भुलवश लेखिएको एक कठ्ठा तीन धुरलाई एक बिघा तीन कठ्ठा बनाउने शर्तमा सर्वेक्षक चौधरी पहिलो किस्तावापत् सेवाग्राहीबाट दुई लाख रुपैयाँ लिँदालिँदै पक्राउ परेका हुन्।

अख्तियार टोलीद्वारा पक्राउ गरिएका चौधरीलाई लहान नगरपालिका ६ का वडाध्यक्ष अरुणकुमार पोखरेल र इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापाको रोहवरमा मुचुल्का गरी थप अनुसन्धानका लागि बर्दिवास लगिएको टोली प्रमुख केसीले जानकारी दिए।

Comments