गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक निर्माणमा अवरोध

काठमाण्डाै । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटारका स्थानीयवासीले मुआब्जाको माग गर्र्दै निर्माणमा अवरोध गरेका छन् । आयोजनाले सो सडकखण्डको पासाङल्हामु मार्गमा पर्ने पीपलटारदेखि ढुङ्गेसम्मको घरजग्गाको मुआब्जा नदिएको भन्दै विदुर नपा–५ पीपलटारमा सडकमा भइरहेको कालोपत्रे गर्ने काम आज बिहानदेखि स्थानीयवासीले अबरोध गरेका हुन् ।

देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितका घर जग्गाको मुआब्जा वितरण शुरु भए पनि पीपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढेपछि काम रोकिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक सरोकार समितिका संयोजक लीलानाथ न्यौपानेले बताउनुभयो । उहाँले पछिल्लो समय मुआब्जा नदिने कुरा आएपछि आन्दोलन गर्नुपरेको जिकिर गरे।

विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूलीखण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएको कारण मुआब्जा दिन नमिल्ने सो सडक योजनाका अधिकारीले अनौपचारिक रुपमा जानकारी दिन थालेपछि स्थानीयवासीले निर्माणमा अवरोध गरेका हुन् । अवरोधमा उत्रिएका स्थानीयवासीले प्रमुख जिल्ला अधिकारीले मुआब्जा नमिल्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

प्रजिअ उद्धवबहादुर थापाले सो सडकखण्डमा मुआब्जा दिने नदिनेबारे आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो । योजनाका प्रमुख सुबोधकुमार देवकोटाले पीपलटार–ढुङ्गे मुआब्जाका बारेमा कुनै निर्णय नभएको जानकारी दिए । मुआब्जा दिने भनेर सडक विस्तार गरी अन्तिममा आएर नदिने तयारीमा उक्त सडक योजना लागेको विदुर –५ का वडाध्यक्ष शिवकुमार चित्रकारले बताए । आयोजनाको देवीघाट–गल्छी खण्डका एक हजार ४८१ रोपनी जग्गाको प्रतिआना रु दुई लाख ५० हजारदेखि रु तीन लाख २५ हजारसम्मको दरले मुआब्जा वितरण शुरु भएको छ । पृथ्वी राजमार्गको गल्छीदेखि–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी नाकासम्मको ८२ किलोमिटर सडकमा अहिले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडकखण्डमा स्तरोन्नतिका काम भइरहेको छ ।

Comments