जम्मु-काश्मिर समस्या समाधान गर्न जनमतसङ्ग्रह होस् : पाकिस्तानी राजदूत

काठमाडौं । भारतको नियन्त्रणमा रहेको जम्मु-काश्मिरमा भइरहेको राजनीतिक समस्या समाधान गर्नका लागि उक्त क्षेत्रमा जनमतसंग्रह हुनुपर्ने नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले माग गरेका छन्।

पाकिस्तानी राजदूतावासमा बुधबार ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा राजदूत जावेदले संयुक्त राष्ट्रसंघको निगरानीमा उक्त क्षेत्रमा जनमतसंग्रह हुनुपर्ने माग गरेका हुन्। उनले जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुसार जनमतसङ्ग्रहका माध्यमबाट हुनुपर्ने दोहोर्‍याएका हुन्।

राजदूत जावेदले  कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताए। उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताए। राजदूत जावेदले भने, ‘दुवै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेका छन्।’

राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले समाधानका लागि सबैले मिलेर संयुक्त राष्ट्र सङ्घलाई घच्घच्याउनुपर्नेमा जोड दिए। पत्रकार राजनसिंह कार्कीले भारतलाई असल छिमेकीको भूमिका निर्वाह गर्न सुझाउँदै काश्मिर समस्याको समाधानको निर्णय गर्ने अधिकार काश्मिरी जनतालाई नै दिनुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा विश्वासमोहन आचार्यले विश्वशान्तिको कामना गर्दै कविता वाचन गरेका थिए।

Comments