बंगबन्धु गोल्डकप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम आज बंगलादेश जाँदै

काठमाण्डौ । बंगबन्धु गोल्डकप खेल्नका लागि आज नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेश जाँदैछ ।

प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । समूह ए रहेको नेपालको खेल भने मंगलबार परेको छ । पहिलो खेलमा नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने २० गते प्यालेस्टाइनसँग खेल्नेछ ।  समूहमा तीन टिम रहेकाले एक खेल जित्न सकेको खण्डमा पनि सेमिफाइनलको यात्रा सहज हुनेछ । प्रतियोगिताको समूह चरणका खेलहरु सिलेतमा हुनेछन् भने सेमिफाइनल कक्स बजारमा संचालन हुनेछ ।

फाइनल भने राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । दुई वर्षअघिको संस्करणमा नेपालले उपाधि जितेको थियो । नेपालले साफ च्याम्पियनसिप खेलेकै टिमलाई बंगलादेश पठाउँदैछ । तर गोलकिपर किरण कुमार लिम्बु र रोहित चन्द भने विदेशी लिगका कारण टिममा छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितको स्थानमा तेज तामाङ टिममा परेका छन् । बंगलादेश फुटबल फेडेरेसनले बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा सन् १९९६ देखि आयोजना सुरु गरेको प्रतियोगिताको यो पाँचौं सस्करण हो ।

Comments