प्रदेश राजधानीको विरोधमा आज पनि धनगढी बन्द

धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णयको बिरोधमा अस्थायी राजधानी रहेको धनगढी बजार क्षेत्र दुई दिनदेखि बन्द गरिएको छ ।

बन्दका कारण आइतबार पनि बिहानैदेखि धनगढी बजार ठप्प छ । सार्वजनिक यातायातका साधनहरु सञ्चालन भएका छैनन् । मोटरसाइकल, साइकल र विद्युतीय रिक्सा भने फाट्टफुट्ट सञ्चालन भएका छन् । लामो दुरीका यातायातका साधनहरुको आवतजावत पनि प्रभावित भएको छ । शिक्षण संस्था पनि चलेका छैनन् ।

चाडपर्वको मुखमा बजार बन्द गराउने रहर नभएपनि निर्णय प्रक्रिया न्यायोचित नभएकाले बन्द गर्नुको विकल्प नभएको आन्दोलनका अगुवा हरि रेग्मीले बताए । रेग्मीले सत्तापक्षले बहुमतको आडमा संसदीय परम्परालाई लत्याएको आरोप लगाए । नागरिक समाज संघर्ष समितिको आव्हानमा बजार क्षेत्र बन्द गराइएको हो ।

शुक्रबार प्रदेश सभाको दुई तिहाई बहुमतबाट प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीमा राख्ने निर्णय पारित गरेको थियो ।

Comments