वर्तमान सरकार श्रमजीविको पक्षमाः मन्त्री विष्ट

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्तमान सरकार सदैव श्रमजीवि जनताको पक्षमा रहेको बताएका छन ।नेपाल इलेक्ट्रिसियन सङ्घको नवौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले विद्युतीय क्षेत्रमा काम गर्ने श्रमिकले अत्यन्त ठूलो जोखिम बहन गरेर काम गर्नुपर्ने भएकाले ती श्रमिकको सुरक्षा र स्वास्थ्यमा सरकराले यथोचित ध्यान दिने बताए ।

मन्त्री विष्टले इलेक्ट्रिसियनले प्राप्त गर्ने सेवा, सुविधा र ज्याला तोकिएबमोजिम कार्यान्वयन नभए सरकारले कडाईका साथ लागू गर्ने बताए । उनले भने, “सरकारले श्रमिक वर्गको अधिकारको रक्षा गर्नेछ, इलेक्ट्रिसियनको सुरक्षा गर्नेछ ।” बढ्दो शहरीकरणसँगै यस क्षेत्रका प्राविधिकको माग बढ्दै जाने हुँदा धेरै सङ्ख्यामा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै उनले पूराना जनशक्तिलाई दक्ष बनाएर अद्यावधिक गरिनुपर्ने बताए ।

गरीबी, अभाव र बेरोजगारी व्यहोरेको देशलाई सम्पन्न मुलुकका रुपमा परिणत गर्न सीपयुक्त दक्ष जनशक्तिको योगदानको आवश्यकता रहेको बताउँदै उनले भने, “हामी देशलाई आफ्नै पौरखले बदल्न चाहेका छौँ, जिन्दगीलाई आफ्नै मेहनतले सिगार्न चाहेका छौँ, समाज र देशलाई बदल्नका लागि कर्ममा विश्वास गर्दछौँ, कर्ममार्फत नै हाम्रो भविश्य बदल्छौँ, देश बदल्छौँ ।”

नेपालीका पौरखी हातले मरभूमिलाई हरियालीमा रुपान्तरण गर्नका लागि सफल भएको बताउँदै नेपालमै श्रम गर्ने पौरखी हात नयाँ नेपाल निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरेका छन । इलेक्ट्रिसियनले श्रमप्रति सम्मान जगाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । उनले भने, “नेपालमा कामलाई सम्मान गर्ने संस्कृति अझै पनि हुर्किन सकेको छैन्, इलेक्ट्रिसियनले सीप सिकेर जोखिम मोल्दै प्रदान गर्नुभएको सेवाले काम गर्नेहरुका लागि नेपालमा पर्याप्त अवसर छ भन्ने पुष्टि गरेको छ ।”

Comments