निर्मला हत्या प्रकरणका दोषिलाई कारबाही गर्न ढिलाइ हुन्नः गृहमन्त्री

काठमाडौं  । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाका दोषीलाई कारवाही गरिएको दाबी गरेका छन्। मन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गरिएको बताएका हुन्।

बिहीबार महिला हिंसा न्यूनिकरणसम्बन्धि सरकारको काम कारवाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उनले बाँकी १० प्रतिशत सो सम्बन्धि घटनाका दोषीलाई पनि छिट्टै कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता दोहोर्‍याएका छन्। गृहमन्त्री थापाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न ढिलाई नहुने आश्वासन पनि दिए। उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानबिनमा त्रुटि गर्नेमाथि कारवाही गरेको पनि समितिलाई स्मरण गराएका थिए। गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरेका थिए।

गृहमन्त्री थापाले समिति समक्ष विगत पाँच महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना भएका उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दाबी गरेका थिए। बैठकमा समितिका सदस्यहरूले बढ्दो महिला हिंसा नियन्त्रण गर्न  जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न सरकारलाई सुझाव दिएका थिए। समिति सदस्य गंगा चौधरीले फाँसीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याएकी थिइन्। बैठकमा समितिका सदस्यहरूले महिला हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउने काममा गम्भीर बन्न पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए। विगत ५ महिनायता नेपालमा महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४१७ भएको सरकारी तथ्यांकमा उल्लेख छ।

Comments