सातौं पटक भारतलाई एसिया कपको उपाधि,अन्तिम बलमा भारतले बंगलादेशविरुद्ध रोमाञ्चक जीत निकाल्यो

काठमाण्डौ । शुक्रबार दुबईमा भएको एसिया कपको फाइनलमा बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले रोमाञ्चक जित हात पारेको छ ।बंगलादेशले दिएको २ सय २३ रनको विजयी लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टाएको हो । एक दिवसीय क्रिकेटको उपाधिका लागि अन्तिम बलमा जित हात पारेको यो दोस्रो पटक हो । एसिया कप २०१८ को उपाधि उचाल्दै भारत ७ पटक एसिया कपको च्याम्पियन बन्न सफल भएको छ ।

फाइनलमा शतक प्रहार गर्ने बंगलादेशी ब्याट्सम्यान लिटन दास म्यान अफ् द म्याच बने । त्यस्तै भारतका लागि ५ खेलमा ३ सय ४२ रन बनाउने शिखर धवन म्यान अफ् द सिरीज बने । बंगलादेशी बलरले भारतीय ब्याट्सम्यानलाई कडा दबाब दिए । सुपर फोरको अन्तिम खेलमा अफगानिस्तानसँग टाई गरेको भारतले बंगलादेशसँगको खेलमा पनि उत्कृष्ट प्रर्दशन भने गर्न सकेन ।
भारतलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक थियो । भारतसँग तीन विकेट बाँकी थियो । बंगलादेशले अन्तिम ओभरमा महमुदुल्लाहलाई बलिङ गर्न दियो । क्रिजमा कुलदीप यादव र केदार जाधव थिए । कुलदीपले त्यसभन्दा पहिले मात्रै एक बल फेस गरेका थिए ।

कुलदीपले अन्तिम ओभरको पहिलो बलमा एक रन बनाए । दोस्रो बलमा केदारले एक रन लिए । तेस्रो बलमा कुलदीपले दुई रन लिए । बाँकी ३ बलमा भारतलाई जितका लागि मात्र दुई रनको खाँचो थियो । चौथो बलमा कुनै रन बनेन । भारतलाई दुई बलमा अब दुई रन आवश्यक भयो । पाँचौ बलमा कुलदीपले एक रन लिए । अन्तिम बलमा भारतलाई एक रन चाहियो र क्रिजमा थिए केदार जाधव । उनले अन्तिम बलमा प्रहार गरेको शर्ट फाइन लेगतर्फ गयो । भारतले लेगबाईमार्फत पाएको एक रनले उपाधि आफ्नो हातमा पार्यो ।
केदार जाधव २३ रन बनाउँदै नटआउट रहे भने कुलदीप पाँच रन बनाउँदै नटआउट रहे ।

भारतीय टिमको सुरुवाति राम्रो भएन । पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शिखर धवन मात्रै १५ रन बनाएर आउट भए । अम्बाती रायडू पनि दुई रनमै पेभेलियन फर्किए । लयमा देखिएका कप्तान रोहित शर्माले पनि ठूलो पारी खेल्न सकेनन् । रोहित ५५ बलमा ४८ रन बनाएर आउट भए । भारतको स्कोर बोर्डमा ८३ रन हुँदा उसले तीन विकेट गुमाइसकेको थियो । महेन्द्र सिंह धोनी र दिनेश कार्तिकले चौथो विकेटका लागि ५४ रन जोडे । कार्तिक ३७ रन बनाएर महमुदुल्लाहको बलमा आउट भए । त्यसपछि धोनी पनि ३६ रन बनाएर मुस्तफिजुर रहमानको बलमा आउट भए । रवीन्द्र जडेजाले २३ रन बनाउँदा भुवनेश्वर कुमारले २१ रनको योगदान दिए ।

Comments