चाडपर्वमा राजधानीको सुरक्षा : नाकामा कुकुरसहित चेकजाँच टोली, ३५ सय प्रहरी परिचालन

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ हजार ५ सय जनशक्तिलाई परिचालन गर्ने तयारीसहित चाडपर्व सुरक्षा योजना सार्वजनिक गरेको छ।

काठमाडौं प्रहरीले चाडपर्वलाई लक्षित गरि हुनसक्ने ६ घटनालाई सुरक्षा चुनौती मान्दै सुरक्षा प्रबन्ध मिलाएको हो। परिसरका अनुसार चाडपर्वमा ब्यक्तिगत, सरकारी सम्पत्तिको सुरक्षा, बजारमा हुने चोरी, ठगी र लुटपाटका लागि सुरक्षा, झै–झगडा, रातिको समयमा हुने चोरी डकैती, अवैध जुवा तथा सट्टा र ट्राफिक नियम परिपालनालाई मुख्य चुनौती मानेको छ।

परिसरको योजना अनुसार काठमाडौंलाई १४ क्षेत्रमा विभाजन गरेर सुरक्षा प्रवन्ध मिलाउने तयारी भएको छ। परिसरले आइतबार आफु मातहतका परिसर प्रमुखहरुलाई बोलाएर सुरक्षा योजनाका बिषयमा बिफ्रिङ गरेको छ।

परिसर प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार चाडपर्व लक्षित सुरक्षाका लागि काठमाडौं भित्रने नाकादेखी बजार क्षेत्र र गल्ली–गल्लीमा प्रहरी पुग्ने व्यवस्था गरिएको हो। उनका अनुसार सरकारी तथा निजी संघसंस्थाको सम्पत्तिको सुरक्षाका लागि यसपटक सबैका प्रतिनिधीसँग प्रहरीले सहकार्य गर्ने भएको हो।

‘प्रहरी कर्मचारीले उपहार र सहयोग लिदैन, उसले चाडपर्वमा जनताको जिउधनको सुरक्षा एउटै मन्त्र लिएर काम गर्नेछ,’ एसएसपी लामाले भने।

प्रहरीले चाडपर्व अवधिभरका लागि ६० वटा पैदल गस्ती खटाउने छ। यो टोली नजिकको प्रहरी इकाईको सम्पर्कमा रहेर गल्ली–गल्लीमा पुग्नेछ। यस्तै ६१ स्थानमा प्रहरीको एउटा टोली खटिने छ। यसले गल्लीमा पुगेर गस्ती गरेका प्रहरीले दिएको सूचना अनुसार कारबाही अघि बढाउने छ।

प्रहरीले ३६ वटा साइकल गस्ती र ३० वटा मोटरसाइकल गस्तीलाई आलोपालो गरी २४ घण्टा खटाउने छ। यस्तै २४ वटा गाडीबाट सहरका महत्वपूर्ण र सम्बेदनशील क्षेत्र तथा स्थानमा सुरक्षा दिनेछ।

परिसरले आफू मातहत रहेका ७० जना प्रहरी अधिकारीलाई काठमाडौं केन्द्रीत रहने गरी सादा पोशाकमा खटाएको छ। यसरी खटिएका प्रहरी अधिकारीले अपराध नियन्त्रणका लागि पूर्वसूचना संकलनका साथै निगरानी समेत राख्नेछन्।

प्रहरीले आइतबारदेखि छठ पर्वसम्मका लागि ३० स्थानमा नियमित खोजतलास र नाकाबन्दी गर्नेछ। यस्तै ३० स्थानमा आकस्मिक चेकजाँच र निगरानीको व्यवस्था गरिएको छ। काठमाडौं भित्रने सबै नाकामा तालिम प्राप्त प्रहरी कुकुरको सहयोगमा चेकजाँच गरिने परिसरले जनाएको छ।

हातहतियारसहितको ५३ वटा क्विक रेस्पोन्स टिमका प्रहरी अधिकारी खटिनेछन्।

‘हामीले प्रहरी अधिकृतको नेतृत्वमा २५ जनाको टोली तयारी अवस्थामा राख्नेछौं, कुनै घटना हुनासाथ यो टोलीले ५ मिनेट बढिमा त्यहाँ पुगेर अवस्था सम्हाल्ने छ,’ लामाले भने।

उनले चाडपर्वमा सर्वसाधारणको यात्रा सुरक्षित बनाउने देखी साना भन्दा साना अपराधबाट उनीहरु पीडित बन्न नपरोस् भन्ने विश्लेषणसहितको योजना ल्याएको दाबी गरे।

Comments