राष्ट्रकवि माधव घिमिरेलाई नागरिक अभिनन्दन

फाइल फोटो

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले राष्ट्रकवि माधव घिमिरेलाई नागरिक अभिनन्दन गरेको छ । काठमाडौं महानगरपालिकाले शनिबार राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी राष्ट्रकविलाई अभिनन्दन गरेको हो । महानगरबासीको तर्फबाट काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेका हुन ।

उनको सम्मानमा महानगरले अभिनन्दन पत्रसहित पशुपतिनाथ मन्दिरको स्वरुपको मूर्ति लगायत उपहार प्रदान गरेको थियो । अभिनन्दन अघि उनलाई निवासदेखि राष्ट्रिय सभागृहस्थलसम्म लावा लस्कर, बाजा गाजा र झाँकीसहित घोडा बग्गीमा राखेर रथा रोहणसहित नगर परिक्रमा गराइएको थियो ।

रथारोहणका क्रममा घिमिरेको निवासदेखि सभागृहसम्म महानायक राजेश हमालले साथमै बसेर राष्ट्रकवि घिमिरेलाई छाता ओढाएका थिए ।यसअघि उनको केही दिन अघि सयौं जन्मदिवस मनाइएको थियो । राष्ट्रिय उत्सवको रुपमा मनाइएको जन्मोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले निवासमै पुगेर शुभकामना दिएका थिए । २०६० सालमा घिमिरेलाई सरकारले राष्ट्रकविको उपाधि दिएको थियो ।

Comments