काठमाडौं। एसिया कप क्रिकेटको सुपर चार चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलार्इ पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। शुक्रबार हुने फाइनलमा उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन्। बंगलादेशले अहिले सम्म उपाधि जित्न नसके पनि तेस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
बुधबार राति भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर ५ बलको खेल सकिदाँ सबै विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो। बंगलादेशका लागि मुस्फिकुर रहीमले ९९ बनाए। १ सय १६ बल खेलेका रहीमले ९ चौका प्रहार गरेपनि शतक बनाउन भने १ रनले चुके। त्यस्तै मोहम्मद मिथुनले ६० रन, महमदुल्लाहले २५ रन, मशरफे मोर्ताजाले १३ तथा मेहिदी हसनले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङकमा समेत रन जोड्न सकेनन्। पाकिस्तानका जुनैद खानले ४ विकेट लिए भने शाहिन शाह अफ्रीदी तथा हशन अलिले २/२ र शदाब खानले १ जना ब्याट्सम्यानलार्इ पेभेलियन फर्काए।
जवाफी ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २ रन मात्र जोड्दा खेल गुमाउन पुग्यो। पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ८३ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा पाकिस्तानले फाइनलमा भारतसँग भिड्ने मौका गुमायो। बंगलादेशका मुस्ताफीजुर रहमानले ४ विकेट लिएका थिए भने मेहिदी हशनले २ विकेट लिए।


















Comments
Post a Comment