प्रहरी नायब निरीक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा आज प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो । आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा आज थप पक्राउ गरिएको हो । आरोपी खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिष्टारद्वय धर्मराज रोकाय र गङ्गाधर पौडेललाई पक्राउ गरेको छ । आयोगका अनुसार शङ्कर इलेक्ट्रिकल इण्डष्ट्रिजका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको भन्ने उजुरीका आधारमा आयोगले बबरमहलबाट पक्राउ गरेको हो ।

Comments