काठमाडौं । महानगरीय प्रहरी वृत्त, गौशालाले मालपोत कार्यालय, चाबहिलका प्रमुख कमलप्रसाद तिम्सिनासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल छन् ।
वृत्तका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार बुढानिलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
यसअघि सोही प्रकरणमा मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना पक्राउ परिसकेका छन् ।
प्रहरीले जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई समेत पक्राउ गरेको थियो ।
मालपोतका कर्मचारीको मिलेमतोमा उनीहरुले गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई कित्ता नं ३२९ को एक रोपनी नौ आना तीन पैसा, कित्ता नं ३२५ को आठ आना एक पैसा र कित्ता नं ३२३ को छ आना जग्गा भट्टराई र बडुवालको नाममा पास गरेका थिए ।
पक्राउ परेकाहरुमाथि लिखत सम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा अनुसन्धान भइरहेको डिएसपी मल्ल बताउँछन् ।
Comments
Post a Comment